शारदा सरस्वती माविको शिक्षा र व्यवस्थापन संकायका विद्यार्थीहरूको फिल्ड भिजिट सम्पन्न

- महाकाली अनलाइन
- २०८२ श्रावण १६, शुक्रबार

दोधारा चाँदनी–४ स्थित शारदा सरस्वती माध्यमिक विद्यालयले शिक्षा र व्यवस्थापन संकाय अन्तर्गत कक्षा ११ र १२ का विद्यार्थीहरूको आन्तरिक मूल्याङ्कनलाई सशक्त बनाउन फिल्ड भिजिट कार्यक्रम सम्पन्न गरेको छ।
विद्यालयले प्रत्येक वर्षजस्तै यस वर्ष पनि विद्यार्थीहरूलाई फिल्ड भिजिट गराउँदै आएको छ। यसै क्रममा शुक्रबार एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरूलाई भीमदत्त नगरपालिका–१० मा अवस्थित उपहार ग्रुप प्रा.लि. मा लगिएको हो।
कार्यक्रमको नेतृत्व गरेका शिक्षा र व्यवस्थापन संकायका शिक्षक तथा सह–प्रधानाध्यापक रमेश सिंह साउदका अनुसार, “फिल्ड भिजिटले विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा देखेर सिक्न र सम्झन सहज बनाउँछ। यो आन्तरिक मूल्याङ्कनको लागि पनि महत्वपूर्ण छ।”
उक्त भ्रमणका क्रममा उपहार ग्रुपका संस्थापक सुनिल बुढाले विद्यार्थीहरूसँग आफ्ना व्यवसायिक अनुभवहरू साझा गर्दै भने, “व्यवसाय गर्नका लागि सबैभन्दा पहिला इमानदारीता हुन जरुरी छ, तर लोभ हुनु हुँदैन। सफल हुनका लागि व्यवस्थापन हुनुपर्छ। कसले कति कमायो भन्ने होइन, कति बचत गर्यो भन्ने कुराले महत्व राख्छ।”
त्यसैगरी विद्यालयका मा.बि. संयोजक टिकराम शर्माले विद्यार्थीहरूलाई प्रेरणा दिँदै भने, “विद्यार्थीमा लगनशीलता हुनु जरुरी छ। लगन छ भने एक दिन अवश्य सफल भइन्छ।”
त्यसैगरी विद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर चन्दले यस्तो कार्यक्रमले विद्यार्थीहरूको मनोबल बढाउने र विद्यालयको एक किसिमको नौलो प्रयासको रूपमा लिइएको बताए। “व्यवहारिक सिकाइतर्फ केन्द्रित यस्ता कार्यक्रमहरूले शैक्षिक वातावरणमा नयाँ ऊर्जा थप्नेछन्,” उनले भने।
विद्यार्थीहरू उपहार ग्रुपको कार्यालय र उत्पादन प्रक्रिया नजिकबाट अवलोकन गर्न पाउँदा उत्साहित देखिएका थिए। व्यवस्थापन पक्ष र वातावरणको प्रत्यक्ष अवलोकन गर्दै, प्रवन्धकसँग प्रश्नोत्तर गर्ने अवसरसमेत पाएका विद्यार्थीहरूले यस अनुभवबाट स्पष्ट र व्यावहारिक ज्ञान हासिल गर्न सकेको प्रतिक्रिया दिएका छन्।
विद्यालय प्रशासनका अनुसार यस्ता अभ्यासले विद्यार्थीहरूलाई व्यवहारिक शिक्षातर्फ अभिमुख गराउन सहयोग पुर्याउने बताए ।


















