विश्व वातावरण दिवसको अवसरमा रेडियन्ट माध्यमिक विद्यालयद्वारा सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न

कञ्चनपुरको महेन्द्रनगर स्थित रेडियन्ट माध्यमिक विद्यालयले ५४ औँ विश्व वातावरण दिवसको अवसर पारेर विद्यालय...  विस्तृतमा

  • महाकाली अनलाइन

    ३८ सेकेण्ड अघि

२०८३ जेष्ठ २२, शुक्रबार
ट्रेण्डिङ

विश्व वातावरण दिवसको अवसरमा रेडियन्ट माध्यमिक विद्यालयद्वारा सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न

  • महाकाली अनलाइन
  • २०८३ जेष्ठ २२, शुक्रबार

कञ्चनपुरको महेन्द्रनगर स्थित रेडियन्ट माध्यमिक विद्यालयले ५४ औँ विश्व वातावरण दिवसको अवसर पारेर विद्यालय क्षेत्र तथा महेन्द्रनगर बजार क्षेत्रमा रहेका धार्मिक स्थलहरुको सरसफाई गर्नुका साथै विद्यालय परिसरमा वृक्षारोपण कार्यक्रम गरेको छ ।

 

वातावरण संरक्षणप्रतिको सामूहिक दायित्व बोध गराउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

 

​विद्यालयका प्रिन्सिपल सूर्य बहादुर चन्दको नेतृत्वमा भएको मन्दिर सरसफाई कार्यक्रममा विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक लोकेन्द्र भट्टसहित विद्यालयमा क्रियाशिल रहेका ‘इको क्लब’ र ‘बाल क्लब’ मा आबद्ध विद्यार्थीहरूको सहभागिता रहेको थियो । सरसफाई अभियान अन्तर्गत विद्यार्थीहरूको टोलीले महेन्द्रनगर बजार क्षेत्रमा रहेका प्रसिद्ध धार्मिक स्थलहरू बैजनाथ धाम मन्दिर र शिवनाथ धाम मन्दिर परिसरको सरसफाई गरेका छन् ।

 

धार्मिक र ऐतिहासिक महत्व बोकेका उक्त स्थलहरूको सरसफाई गरिँदा स्थानीय स्तरमा समेत पर्यावरण सफा राख्नुपर्छ भन्ने सकारात्मक सन्देश प्रवाह भएको विद्यालयका प्रधानाध्यापक सूर्य बहादुर चन्दले बताउनुभयो । उहाँका अनुसार विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञान मात्रै नभई वातावरण संरक्षणको महत्व र यसको प्रभावबारे जानकारी र अनुभव प्रदान गर्नका लागि विद्यार्थीहरुलाई प्रत्यक्ष रुपमा सरसफाई र वृक्षारोपण कार्यक्रममा सहभागि गराईएको बताउनुभयो । साथै उहाँले यस प्रकारका कार्यक्रमहरु मार्फत विद्यार्थीहरूमा वातावरणीय चेतनाको विकास गराउने र विद्यालय परिसरलाई हराभरा, स्वच्छ एवं आकर्षक बनाउन सहयोग पुग्ने बताउनुभयो ।

​दिवसकै अवसरमा विद्यार्थीहरूले विद्यालय परिसरमा पनि सरसफाई कार्यक्रम गर्नुका साथै आ-आफ्नो घरबाट ल्याएका विभिन्न प्रजातिका फलफूल तथा बोटबिरुवाहरू विद्यालय प्राङ्गणमा रोपेर वृक्षारोपण समेत गरेका छन् ।

 

यस्ता रचनात्मक कार्यहरूको माध्यमद्वारा विद्यार्थीहरुले सानै उमेरदेखि पर्यावरण संरक्षणको महत्त्व बुझ्ने र विद्यालयको वातावरणलाई अझ बढी आकर्षक र वातावरणमैत्री बनाउन मद्दत पुग्ने अतिरिक्त क्रियाकलाप संयोजक लोकेन्द्र भट्टले बताउनुभयो ।