काठमाडौं उपत्यकाव्यापी अन्तरविद्यालय खो खो प्रतियोगितामा कुमुदिनी कुञ्ज र मंगल मावि च्याम्पियन

- महाकाली अनलाइन
- २०८३ जेष्ठ १८, सोमबार

काठमाडौं । किर्तिपुर खो खो एकेडेमीको आयोजनामा दोस्रो काठमाडौं उपत्यकाव्यापी अन्तरविद्यालय छात्र/छात्रा खो खो प्रतियोगिता २०८३ सम्पन्न भएको छ।
शुक्रबारदेखि किर्तिपुरस्थित नयाँ बजार कभर्डहल मा सुरु भएको प्रतियोगिता तीन दिनसम्म सञ्चालन भएको थियो। प्रतियोगितामा काठमाडौं उपत्यकाका १६ विद्यालयका २८ टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ।
प्रतियोगिताको छात्रातर्फ मंगल माध्यमिक विद्यालयले उपाधि जित्दै च्याम्पियन बन्न सफल भएको छ भने छात्रतर्फ कुमुदिनी कुञ्ज विद्यालय विजेता बनेको छ।
विद्यालयस्तरबाट प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले खो खो खेलको विकास, प्रवर्द्धन तथा विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको आयोजकको भनाइ छ।
आयोजकका अनुसार आगामी वर्षहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई प्रतिनिधित्व गर्न सक्ने खेलाडी उत्पादन गर्ने लक्ष्यसहित यस्ता प्रतियोगितालाई अझ प्रभावकारी र व्यवस्थित रूपमा सञ्चालन गरिनेछ। प्रतियोगिताले विद्यार्थीहरूमा खेलप्रतिको रुचि बढाउनुका साथै अनुशासन, नेतृत्व क्षमता र प्रतिस्पर्धात्मक भावना विकास गर्न समेत सहयोग पुर्याएको आयोजकले जनाएको छ।

















